सोलुखुम्बुमा एक जनाको आरडीटी परिक्षण पोजेटिभ
सोलुखुम्बु २३ बैशाख । कोरोना संक्रमणको न्यून जोखिमयुक्त जिल्ला मानिएको सोलुखुम्बुमा एक जनाको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ । लिखुपिके गाउँपालिकाका एक युवकको आरडीटी परीक्षण पोजेटिभ देखिएको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए ।
भोजपुरवाट गत हप्ता लिखुपिके फर्केका युवक लिखुपिके ५ का हुन् । गाउँपालिका प्रवेश गर्नासाथ उनी अरुसँगै क्वारेन्टाइनमा रहेको अध्यक्ष बस्नेतले बताए ।
आरडीटी परीक्षण पोजेटिभ देखिएका युवकको स्वाब परीक्षण प्रक्रियालाई अघि बढाउन जिल्ला सदरमुकाम सल्लेरीवाट टोली लिखुपिके जाने तयारी भएको छ ।
लक डाउनका समयमा सोलुखुम्बुका स्थानीय तहहरुले काठमाण्डौ तथा अन्य क्षेत्रमा समस्यामा परेका हजारौं नागरिकलाई आफ्नो गाउँपालिका तथा नगरपालिकामा भित्र्याएका थिए ।
आरडीटी परीक्षणमा पोजेटिभ देखिएमध्ये पनि कतिपयको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको छ । आरडटी परीक्षण पोजेटिभ देखिँदैमा आत्तिनुपर्ने अवस्था नहुने चिकित्सकहरुको भनाई छ । सोलुखुम्बुसमाचारबाट