नेपालीभाषी महिलालाई अपमान गर्ने नायिका अनुष्काबिरुद्द मुद्दैमुद्दा



काठमाडौं ६ जेठ। नेपाली महिलालाई अपमानजनक शब्द प्रयोग गरेर बिबादित बनेकी भारतीय नायिका अनुष्का शर्माविरुद्ध मुद्दा दायर भएको छ।उनी विरुद्ध अरुणाचल प्रदेशको अल अरुणाचल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको हो।

अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि प्रयोग गरिएको अत्यन्त आपत्तिजनक दृश्य र संवादका कारण यतिबेला विश्वभरबाट अनुष्काको आलोचना भइरहेको मात्र छैन,विभिन्न स्थानमा मानहानी सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

बलिउड अभिनेत्री शर्माविरुद्ध अल अरुणाचल प्रदेश गोर्खा युथ एसोसिएशन,दिल्ली बस्दै आएकी दार्जिलिङ निवासी अञ्जनी शर्मा, भारतभर सङ्गठन रहेको भारतीय गोर्खा परिसङ्घको युवा एकाइ भारतीय युवा गोर्खा परिसङ्घले पनि अभिनेत्रीविरुद्ध भारत सरकारको सूचना एवं प्रसार मन्त्रालयमा ‘अनलाइन उजुरी’ दायर गरेको बताइएको छ।
उनीहरूले यस संवादका लागि अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने तथा बेव सिरिजबाट उक्त दृश्य र संवाद हटाउनुपर्ने माग गरेका छन्।
मे १५ का दिन रिलिज भएको अमेजन प्राइमको वेब सिरिज पाताल लोकमा पूर्वोत्तर भारतको एक जनजाति महिलालाई ‘नेपाली वेश्या’को रूपमा देखाउन खोजिएको छ। वेब सेरिजको दृश्य र संवादले चोट पुगेपछि भारतस्थित गोर्खा समाजले यसको विरोधमा मानव अधिकार आयोगसमक्ष मुद्दा दर्ता गरिसकेको छ। तर अहिलेसम्म पनि अमेजन प्राइम र अनुष्का शर्माबाट कुनै स्पष्टीकरण आएको छैन।

प्रतिक्रिया दिनुहोस्