भाडावालहरुलाइ अनावश्यक दु:ख नदिन घरबेटीहरुलाइ गृह मन्त्रालयको आग्रह
काठमाडौं,१० असार ।गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाईनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।
पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।
यस विषयमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं प्रवेश गरेका व्यक्तिहरुले तुरून्त पीसीआर परीक्षण गर्न नपर्ने बताईसकेको छ ।
पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रवक्ता गौतमले बाहिरि जिल्लाबाट आउने मानिसहरूलाई पीसीआर परीक्षण गर्न अनावश्यक दवाब नदिन आग्रह पनि गरेको छ । डा। गौतमले उपत्यका भित्रिने मानिसहरूले आउनुबित्तिकै पीसीआर परीक्षण गर्न नपर्ने भन्दै १४ दिन होम क्वारेन्टाइनमा बन्नुपर्ने बताए । साथै उनले १४ दिन होम क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिएमात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्ने बताए ।
प्रवक्ता गौतमका अनुसार गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ।