बस्नेत र गुरुङलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान प्रदान गरिने
काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७७ लोक गायक कुमार बस्नेत र सङ्गीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको छ ।
आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७७ गायक कुमार बस्नेत र सङ्गीतकार प्रकाश गुरुङलाई प्रदान गरेको हो । दुबैलाई नगद ५०/५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो सम्मान प्रदान गरिएको हो । आचार्य करिब तीन दशकबाट जिव्रोको क्यान्सरका कारण गाउन सक्तैनन् ।
उनका छोराहरु सत्यराज आचार्य र स्वरुपराज २८ वर्षदेखि नेपाली सुगम संगीतमा क्रियाशील छन् । आजको सम्मान कार्यक्रममा सत्य र रुवरुप दुबैजनाले गीत गाएका थिए ।
कार्यक्रममा सम्मानित गायक कुमार बस्नेतले दशकौं सांगीतिक क्षेत्रमा योगदान गरेका कलाकार सरोकारवाला पक्षले रोयल्टी नदिँदा आर्थिक अभावमा गुज्रिरहेको बताए ।
सोही सम्मान कार्यक्रममा संगीतकार लक्ष्मण शेषले सम्पूर्ण कलाकार रोयल्टीका लागि एकठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए । केही म्युजिक कम्पनीहरुले कलाकारको आवाज बन्द गराउन वर्षमा एक दिन केही हजार रुपैयाँ दिएर सम्मान गर्ने गरेको भन्दै उनले स्वार्थका लागि गरिने सम्मानको चङ्गुलमा नफस्न आग्रह गरे ।
अग्रज स्रष्टाहरुले रोयल्टीका विषयमा सरोकारवाला पक्षलाई खबरदारी गरे तत्काल समस्या समाधान हुने भन्दै यसमा गम्भीर हुन आग्रहसमेत गरे ।