नेचासल्यानमा ल्होसार प्रथम ग्याल्पो ल्होसार सांस्कृतिक साँझ सम्पन्न
सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न भएको छ । पहिलो ग्याल्पो ल्होसार साँझ २१४८ नेचा सल्यान–१, चोपम्दक (आहाले डाँडा)मा भव्यताका साथ सम्पन्न भएको हो ।
प्रथम ग्याल्पो ल्होसार सांस्कृतिक साँझ नाम दिएको कार्यक्रममा श्याब्रु नृत्य प्रतियोगिता, व्यक्तित्व सम्मान, पुरस्कार वितरण लगायतका दर्जनौ कार्यक्रम समावेश थिए । दुई महिना अघिदेखि विभिन्न ठाउँमा सञ्चालन भएको कार्यक्रम श्याब्रु प्रशिक्षण समेत सोही अवसरमा समापन भएको आयोजक संस्थामध्ये हिमालयन शेर्पा सांस्कृतिक केन्द्र नेचा सल्यान इकाइका मेन्दो लक्की शेर्पाले जानकारी दिए ।
प्रशिक्षण पश्चात् आयोजित प्रतियोगितामा विभिन्न ७ वटा किदुग सहभागी थिए । ७ वटा किदुगबाट करीब २ सयजना सहभागि थिए । प्रतियोगितामा सहभागीमध्ये लेब्लु शेर्वी किदुग प्रथम, सिमखर्क शेर्वी किदुग द्धितीय र बुद्धिष्ट एकता शेर्वी किदुग र थाम दिङमा शेर्वी किदुगले तेस्रो स्थान हासिल गरे ।
ती संस्थाका कालकारहरुलाई आयोजकबाट बेहुलीको टोपी, चम्मर र बेहुलाको टोपि पुरस्कार प्रदान गरिएको थियो । नेपाल शेर्पा संघको तर्फबाट केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार सोही अवसरमा प्रदान गरेका थिए । त्यस्तै, नेचासल्यानमा सांस्कृतिक केन्द्र गठन गरी जागरुकता देखाउने समूहका रुपमा डुँढघुन्सा शेर्वी किदुगलाई अध्यक्ष पासाङ रिन्जी शेर्पाले १० हजार नगदबाट पुरस्कृत गरेका थिए ।
फागुन २९ र चैत १ गते दुईदिनसम्म सञ्चालन भएको सांस्कृतिक कार्यक्रम आयोजना गर्न नेचा सल्यान गाउँपालिका, यहाँका विभिन्न वडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । त्यस्तै, देश विदेशबाट समेत विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका कार्यक्रम संयोजक मिङमार सार्की शेर्पाले जानकारी दिए ।
नेपाल शेर्पा संघ, हिमाली शेर्पा सांस्कृतिक समाज, नेपाल शेर्पा संघ, चिसंखुगढी गाउँकार्य समिति, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र नेचा सल्यान लगायत स्थानीय किदुगहरुको सक्रितामा कार्यक्रम भएको संयोजक शेर्पाले जानकारी दिए । ओखलढुंगा र सोलुखुम्बु दुवै क्षेत्रको शेर्पा समुदायको संयूक्त आयोजनामो कार्यक्रमा यस भेगको शेर्पा समुदायको भाषा, संस्कार, संस्कृत र परम्परागत मान्यताहरुलाई थप उजागर गर्ने र गराउने मद्दत मिलेको र जिल्ला फरक भए पनि चिसंखुगढी र नेचासल्यानका शेर्पाहरुबीच नङ–मासुको सम्बन्ध जस्तै भएको कारण अगामी कार्यक्रम तथा शेर्पाहरुको निम्ती एक भएर अगाडि बढ्नु पर्ने कार्यक्रम संयोजकले व्यक्त गरे ।
कार्यक्रममा सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाबाट हजारौंको सहभागी थिए । त्यस्तै, स्थानीय कलाकारहरुको समेत प्रस्तुती थियो । कार्यक्रमका लागि विभिन्न उपसमितिहरु समेत गठन गरी परिचालन गरेकाले सफल भएको आयोजक मध्येका एक पासाङ किपा शेर्पाले जनाए । स्वयम् सेवक परिचालन, अतिथि व्यवस्थापन, मञ्च व्यवस्थापन, कार्यालय व्यवस्थापन, अतिथि सत्कार लगायतका समितिहरु गठन गरेका थिए । पहिलो पटक आयोजन हुने कार्यक्रम भएकाले पनि विशेष रुपमा हेरिएको थियो । कार्यक्रमको मूख्य आकर्षणका रुपमा ख्याती प्राप्त कलाकारहरु दावा के शेर्पा, आङ तेन्जी शेर्पा, सुस्मा राई, विनु गुरुङ, अनुषा राई, दौलत राई, मनराज राई, लाक्पा तेन्जी शेर्पा, राजकुमार कार्की लगायत थिए । हास्यकलाकार कक्रोज र बले कार्यक्रमका विशेष आकर्षण थिए ।
पहिलो दिनको कार्यक्रममा नेचा सल्यान गाउँपालिकाका प्रमुख डुफ कुमार बास्तोला प्रमुख अतिथि थिए । त्यस्तै, चिसंखुगढी गाउँपालिकाका प्रमुख निशान्त शर्माे विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए ।
दोस्रो दिन नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव लाक्पा शेर्पा, आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पा किसान, चर्चित गायक गम्बु शेर्पाले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेको आयोजकमध्ये हिमाली शेर्पा सांस्कृतिक समाजका अध्यक्ष पासाङ रिन्जी शेर्पाले जानकारी दिए । कार्यक्रम स्थलमा शेर्पा समुदायका परिकारहरु प्रदर्शनमा राखिएको थियो ।
त्यस्तै, ड्यासिल, छङ्ग्युल, खाप्से लगायत प्रशादहरुको व्यवस्थापनले कार्यक्रममा विशेष आकर्षणको परिभाषित गरे । कार्यक्रमबाट शेर्पा समुदायका पहिचानका बारेमा जानकारी भएको, समुदायमा व्यापक जागरण र रुपान्तरणका लागि सहयोग पुगेको स्थानीय तथा श्याब्रु प्रशिक्षक पेम्बा रिन्जी शेर्र्पाले स्पष्ट पारे, यस श्याब्रु प्रशिक्षण कार्यक्रम र यो ऐतिहासिक र बृहत ग्याल्पो लोसार २१४८ आयेजना हुनेमा संस्थाका सल्लहाकार तथा संयोजक मिङमार सार्की शेर्पाको विशेष भुमिका रहेको शेर्पाले थपे ।