सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित बस्ती पुननिर्माणका लागि कलाकारहरु जुट्दै
काठमाडौं, ६ असार । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको बस्ती पुनर्निर्माणका लागि कलाकारहरूको समिति गठन गरिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागी बैठकले अभिनेता कृष्ण मल्लको नेतृत्वमा समिति गठन गरेको हो ।
गठित समितिले सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुनर्निर्माणका लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ । बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा सार्न, भत्किएका विद्यालय र पुलको पुनर्निर्माण गर्न कलाकारहरूले औद्योगिक घराना, गैरआवासीय नेपाली र आफ्ना फ्यानहरूलाई आह्वान गर्ने भएका छन् ।
‘हामीले बैंकमा कोष खडा गर्छौँ र सबै पक्षलाई दान गर्न आह्वान गर्नेछौँ ’, कृष्ण मल्लले भने ।
पुनर्निर्माणका लागि आवश्यक जग्गा र प्राविधिक सहयोग सरकारले गर्ने स्वास्थ्यमन्त्री तामाङले प्रतिबद्धता जनाएका छन् । तत्काललाई राहतभन्दा पनि दीर्घकालीन रूपमा अघि बढ्ने अभिनेता मल्लले बताएका छन् ।
समितिमा जितु नेपाल, चेतन सापकोटा, श्वेता खड्का, कृष्ण ढुंगाना लगायतका कलाकार रहेका छन् । बस्ती पुनर्निर्माणका थप योजनाका लागि आगामी १० गते बैठक बस्ने भएको छ ।