पल शाहविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा




काठमाडौं । मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले तनहुँ प्रहरीमा जाहेरी दिएकी छन्।

दिदी र भिनाजुसहित प्रहरी कार्यालय पुगेर समिक्षाले बुधबार निवेदन दिएको प्रहरीले जनाएको छ।

नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जर्बजस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो।एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लगाइएको छ।

१८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

केही समयअघि जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिन पुगेकी समीक्षालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन रोकेका थिए।

पोखरा प्रहरीले पनि आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै तनहुँमै उजुरी दिन सुझाव दिएको थियो।

प्रतिक्रिया दिनुहोस्