नेचासल्यानमा ९२ जनाको उम्मेदवारी दर्ता,अध्यक्ष ६ र उपाध्यक्षमा ५ जनाले प्रतिस्पर्धा गर्दै
सोलुखुम्बु।यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि नेचासल्यानमा ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा,जसपा र नेकपा मालेले उम्मेदवारी दर्ता गराएका हुन्।नेचासल्यान गाउँपालिकाका सहायक निर्बाचन अधिकृत लवुन राईका अनुसार आइतबार र सोमबार गरी अध्यक्षमा ६,उपाध्यक्षमा ५,वडाध्यक्ष्यमा १९ र वडा सदस्यमा ६३ जना गरि ९२ जनाको उम्मेदवारी दर्ता भएको हो।
सोमबार अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट धन्जन राई,नेकपा माओवादी केन्द्रबाट भुपेन्द्र कटेल,जसपाबाट हेमन्त राई,राप्रपाबाट भवनाथ शर्मा ढुंगेल र नेकपा मालेबाट बिष्णु बास्तोलाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी उपाध्यक्षका लागि नेपाली कांग्रेसबाट बिणा राई,नेकपा एकीकृत समाजबादीबाट डिल्ली राई,जसपाबाट लंकी शेर्पा र नेकपा मालेबाट चन्द्रकुमारी शर्माले उम्मेदवारी दर्ता गरेको सहायक निर्बाचन अधिकृत राईले जानकारी दिनुभयो।
यसैगरी वडाध्यक्षमा १ नं वडाका लागि कांग्रेसबाट रमेशकुमार राई,माओवादी केन्द्रबाट थिरबहादुर बस्नेत जसपाबाट पेम्बारिन्जी शेर्पा उम्मेदवार बनेका छन् भने २ वडामा कांग्रेसका सीताराम काफ्ले र माओवादी केन्द्रका बियस राई,३ नं वडामा कांग्रेसका चन्द्र आचार्य र माओवादी केन्द्रका सीताराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै वडा नं ४ का लागि कांग्रेसबाट इन्द्रकुमार राई,माओवादी केन्द्रबाट युवराज राई र राप्रपाबाट देवीप्रसाद बास्तोला तथा ५ नं वडामा कांग्रेसबाट सन्तु राई,माओवादी केन्द्र बाट तिलक राई,राप्रपाबाट ङिमतेन्जी शेर्पा र जसपाबाट शुकराज राईले वडाध्यक्षका लागी उम्मेदवारी दर्ता गराएको राईले बताउनुभयो।
नेकपा एमालेले भने आईतवार नै अध्यक्ष उपाध्यक्ष सहित सबै वडाका उम्मेदवारहरुको मनोनयन दर्ता गराएको थियो।एमालेबाट अध्यक्षमा डुफकुमार बास्तोला,उपाध्यक्षमा सृजना राई र वडाध्यक्षहरु १ नं देखि क्रमशः जसबहादुर राई,हरि निरौला,धर्मध्वज खत्री,शुक्र किराँती र राजनकुमार राईले उम्मेदवारी दर्ता गराएका थिए।