डा. उपाध्यायद्वारा थप २२ सहित १३२ विश्व कीर्तिमान कायम
काठमाडौं।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्बम विमोचन गरिएको हो ।
प्रथम उपराष्ट्रपति झाले डा.उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११ वटा संस्थाले उपलब्ध गराएका प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने समारोहमा ‘अविच्छिन्न’ एल्बम विमोचन गरिएको थियो । यसअघि विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड रकेर्डसहित ११० विश्व रेकर्ड कायम गर्नुभएका डा.उपाध्यायको वल्र्ड रेकर्डको संख्या १३२ पुगेको छ ।
यसअघि अन्तर्राष्ट्रिय पचास भाषामा गीत, एकै दिन सबैभन्दा धेरै दैनिक पत्रिकामा लेख प्रकाशित, गीतको सबैभन्दा सानो पुस्तक, नोट साइजको गीतको पुस्तक, ३७० वटा आर्टिकल एक वर्षमा लेखेर, १५० देशका पर्यटकीय स्थलको गीत लेखेर, सबैभन्दा छोटो गीत लेखर जस्ता विविध विधामा विश्व कीर्तिमान कायम गर्नुभएका डा.उपाध्यायले आइतबार सार्वजनिक विश्व रकेर्डमा उपाध्यायका २५ गीत म्युजिसियनले २५ एकैथलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको ए देखि जेडसम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्बम विमोचन, आफ्ना गीतको ४५ वटा भिडियोको एक एल्ब, र्याप गीत ४/४, २/४, ६/८ र ३/४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता जस्ता विधामा रहेका छन् ।
डा.उपाध्यायलाई एभरेष्ट वल्र्ड रेकर्ड, च्यापियन बुक अफ वल्र्ड रकेर्ड, एशियन वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द ब्रिटिश वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, युआरएफ वल्र्ड रकेर्ड, सुप्रिम वल्र्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक जस्ता वल्र्ड रेकर्ड प्रदान गर्ने विभिन्न ११ वटा संस्थाले विश्व कीर्तिमानको प्रमाणप्रत्र प्रदान गरेका हुन् । डा.उपाध्यायलाई हालै भारतमा श्री दादा साहेव फाल्के सम्मान तथा अवार्डले पनि विभूषित गरिएको थियो ।
समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोट र खनाल समाजका महासिचव माधव खनालले शुभकामना मन्तव्य राख्नुका साथै डा.उपाध्यायलाई बधाई दिनुभएको थियो ।
सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको समारोहमा डा.उपाध्यायलाई प्रमुख अतिथि झाले बधाई तथा शुभकामना सम्मान अर्पण गर्नुभएको थियो । विभिन्न क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति रहेको समारोहमा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, पत्रकार राजेन्द्र लुइँटेल, सुभाष प्रधान, निर्देशक माइकल चन्द, भिडियो सम्पादक शिलन लम्साल, सञ्चारकर्मी नरेश भट्टराई र कृष्ण भुसाललाई द ब्रिटिश वल्र्ड रेकर्डले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।
डा.उपाध्यायको सार्वजनिक ‘अविच्छिन्न’ गीति एल्बमा चार गीत समावेश गरिएको छ । एल्बममा ‘चितामाथि जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरदको संगीत रहेको छ भने विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीको स्वर छ ।
प्रमुख अतिथि झाले डा.उपाध्यायका कर्म उहाँका लागि मात्र नभएर देशकै लागि गौरव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डा. उपाध्याय अर्थात् धर्मराज उपाध्याय देशकै लागि गौरव बन्नुभएको छ, उहाँका दिनमा यस्ता कार्य अझ थपिँदै जाउन भन्ने शुभकामना दिन्छु र उहाँलाई बधाई दिन्छु ।’ सो अवसरमा प्रमुख अतिथि झाले आफ्नो जीवनको भोगाइसमेतका विषयवस्तु समेटिएको पुस्तक ‘मधेसको माटो म (सप्तरीदेखि शासनसत्तासम्म)’ कार्य बारेमा चर्चासमेत गर्नुभएको थियो ।
डा.उपाध्यायले आफू यतिकै बस्न नसक्ने र सिर्जनसिल कार्यहरू फरक ढंगले गर्दै जादा विश्व कीर्तिमानको संख्या थपिँदै गएको बताउनुभयो । एनएनटिभीले प्रत्यक्ष प्रसारण गरेको समारोहमा नेपाल चलचित्र कलकार संघका उपाध्याक्ष मोहन निरौला, वरिष्ठ गायिका ज्ञानु राणा, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ, चिनियाँ मामिला जानकार दिनेश खनाल, चीनका पूर्वअख्तियार प्रमुख जेन जि स्याङ, राष्ट्रिय धर्मसभा तथा संस्कृति विभाग प्रमुख कृष्णप्रसाद खनाल, नेपाल इन्टरनेशनल सोसाइटीका अध्यक्ष प्रदीप खनाललगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।