थुलुङदुधकोशीमा विद्यार्थीका लागि ICT/ ROBOTICS projects सम्बन्धि कार्यशाला सञ्चालन
सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले २० जना विद्यार्थीहरुलाई ICT/ ROBOTICS projects सम्बन्धि अध्ययन/अनुसन्धान कार्यशाला सञ्चालन गरेको छ।
सोमबारबाट सुरु भएको सो कार्यशालामा गाउँपालिका भित्रका १० वटा माध्यमिक बिद्यालयका २० जना विद्यार्थी सहभागी रहेको गाउँपालिकाले जनाएको छ।प्रत्येक माध्यमिक विद्यालयले सूचना प्रबिधिमा बढी रुचि राख्ने कक्षा ९ र १० का विद्यार्थीमध्ये छनौट गरि पठाएका एक जना छात्र र एक जना छात्रलाई कार्यशालामा सहभागी गराईएको गाउँपालिका आईटी शाखा प्रमुख सहदेव राईले जानकारी दिए।
काठमाडौंबाट आएका दुई जना प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गरिरहेको एक हप्ते सो कार्यशाला मुक्लीस्थित बीरेन्द्रोदय माध्यमिक विद्यालयको कम्प्युटर ल्याबमा सञ्चालन भइ रहेको
छ।
सहभागी विद्यार्थीहरुमध्ये २/२ जनाको १० वटा समूह बनाएर १० वटा प्रोजेक्ट निर्माण गर्ने जिम्मेवारी दिइने र उनीहरूले निर्माण गरेको सो प्रोजेक्टको जनप्रतिनिधि र स्थानीयले अवलोकन गरेपछि सो कार्यशाला सोमबार सम्पन्न गरिने राईले बताए ।
आर्थिक बर्ष०७९ / ८० को बार्षिक कार्यक्रम अन्तरगत सञ्चालन गरिएको सो कार्यशालाबाट सूचना प्रबिधिका बिषयमा विद्यार्थीहरुले आधारभूत ज्ञान हासिल गर्नुका साथै यसप्रति थप आकर्षण बढ्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।