नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाएको छ।सर्बोच्च अदालतले जारी गरेको अन्तरिम आदेश संशोधन गरेसंगै गाउँपालिकाको वडा नं-३ मा साप्ताहिक हाट रहेको तत्कालीन गाबिसको स्वामित्वको जग्गामा बुधबारदेखि फाउन्डेसन निर्माणको काम सुरु गरिएको हो।

नि:शुल्क प्राप्त मापदण्ड बमोजिमको जग्गा हुंँदाहुंँदै ऐतिहासिक बिहिबारे बजारको अस्तित्व समाप्त पारेर गाउँपालिकाको प्रशासनिक भवन बनाउने गाउँकार्यपालिकाको निर्णयबिरुद्ध उद्योग राई र ज्ञानसिं राईसमेतले दर्ता गरेको रिट निवेदनमा गत चैत २६ गते सर्बोच्च अदालतद्वारा जारी अन्तरिम आदेश बैशाख १५ गते संशोधन भएको थियो।सम्पूर्ण कागजातसहित गाउँपालिकाको तर्फबाट अधिबक्ता हरिप्रसाद कटेलले अन्तरिम आदेश खारेज गरी पाउँ भनि सर्बोच्चमा दिएको निवेदनमा सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश कुमार चुंडालको इजलासले जारी गरेको अन्तरिम आदेश संशोधन अन्तरिम आदेशले श्री केदार माध्यमिक विद्यालयको स्वामित्वमा रहेको कित्ता नं. ३६१ को जग्गा बाहेक तत्कालीन गाबिसको स्वामित्वमा रहेको जग्गामा भवन निर्माणका लागि अवरोध नगरेका कारण हाललाई फाउन्डेसनको काम अघि बढाईएको र आर्थिक बर्ष ०८०/८१ को बार्षिक कार्यक्रममा बजेट ब्यबस्था गरि भवन निर्माण गरिने गाउँपालिका अध्यक्ष धनजन राईले बताए।

सर्बोच्चको सोही संशोधित अन्तरिम आदेश बमोजिम श्री केदार माबिको स्वामित्वमा रहेको जग्गा छोडेर पालिकाको स्वामित्वमा रहेको बाँकी जग्गामा प्रशासनिक भवन निर्माणका लागि काम सुरु गरिएको हो।गाउँपालिकाले विद्यालयको स्वामित्वमा रहेको सो जग्गा ३५ बर्षका लागि लिजमा लिएको छ। सो जग्गामा भवन निर्माणका लागि सर्बोच्चले रोक लगाएपछि उक्त जग्गालाई अब गार्डेन र पार्किङका रूपमा उपयोग गरिने अध्यक्ष राईको भनाई छ ।

बिहिबारे बजार क्षेत्रभित्र प्रशासनिक भवन निर्माण हुने भएपछि साप्ताहिक हाटका लागि त्यसैसंगै जोडिएको उत्तर-पश्चिमपट्टीको गाउँपालिकाकै मौज्दात जग्गालाई उपयोगमा ल्याईएको छ।त्यो संगै जोडिएका पांँच जना जग्गाधनीबाट १ रोपनी जग्गा नि:शुल्क र अन्दाजी ३ रोपनी जग्गा पाँच बर्षका लागि नि:शुल्क प्राप्त हुने प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए।प्रस्तावित प्रशासनिक भवनका लागि निर्माण स्थल वरिपरि रहेका घुम्ती टहरा हटाइएको छ।नियमपूर्बक हटाईएका घुम्ती टहराहरुको स्थानान्तरण अस्थायी बजार क्षेत्रमा धमाधम भइ रहेको उनले बताए। घुम्ती टहरा स्थानान्तरणका लागि सम्बन्धित ब्यक्तिलाई गाउँपालिकाले प्रति टहरा २० हजार रुपैयाँ क्षतिपूर्ति बापत उपलब्ध गराएको बताईएको छ।

कतिपय स्थानीय र राजनीति दलले सो स्थानमा प्रशासनिक भवन निर्माण गर्न नहुने भन्दै बिरोध जनाए पनि यसको विकल्प नरहेको अध्यक्ष राईको भनाई छ।नेचासल्यान गाउँपालिकाको केन्द्र तत्कालीन नेचाबेतघारी गाबिस भनेर राजपत्रमा प्रकाशित भएको र पहिलो स्थानीय तहका निर्बाचित जनप्रतिनिधिहरुले दुई तिहाईबाट केन्द्र सार्ने बैकल्पिक निर्णय नगरेका कारण त्यसलाई अन्यत्र सार्न सकिने सम्भावना नरहेको बताउंदै अध्यक्ष राईले भने- ‘अर्को विकल्प मन्त्रीपरिषदबाट निर्णय गराउनु हो।त्यो पनि सम्भव छैन।एक ठाउँको केन्द्र स्थान्तरणको निर्णय गर्ने बित्तिकै अन्यत्रबाट पनि यस्ता प्रस्ताव आउने भएका कारण यस्ता बिबादित निर्णय सरकारले गर्दैन।’यही बाध्यात्मक परिष्थितिका कारण तत्कालीन गाबिसको स्वामित्वमा रहेको स्थानमा प्रशासनिक भवन निर्माण गर्नुपरेको अध्यक्ष राईको स्पस्टोक्ती छ।

स्थानीयलाई सहज सेवा उपलब्ध गराउनका लागि प्रशासनिक भवन अत्यावश्यक भएको बताउंदै राईले जोखिम मोलेरै भएपनि आगामी आर्थिक बर्षभित्र निर्माण कार्य सुरु गरिने उनको भनाई छ। भवन निर्माणका लागि डिपीआर समेत तयार भइ सकेको छ । स्पाईरल ग्रिड सोलुसन प्रालि काठमाडौँले तयार गरेको डिपीआरमा करिब एक रोपनी क्षेत्रफलमा चार तले भवनको डिजाइन गरिएको छ।यद्यपि हाललाई तीन तले बनाईने अध्यक्ष राईले बताए।

प्रतिक्रिया दिनुहोस्