थुलुङ दुधकोशी अध्यक्ष राईद्वारा देउसामा तीन महिने सिकर्मी तालिमको उद्घाटन



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका- ७ देउसामा तीन महिने सिकर्मी तालिम सूरु भएको छ । वडा नम्बर ७ को आयोजना तथा व्यवसायीक सीप विकास तालिम केन्द्र ओखलढुंगाको सहयोगमा उक्त तालिम सूरु भएको हो ।

उक्त तालिमको गाउँपालिका अध्यक्ष असिम राईले आइतबार उद्घाटन गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । तालिम उद्घाटन गर्दै अध्यक्ष राईले मानिसलाई सीपले आत्मनिर्भर बन्न महत्वपुर्ण भुमिका खेल्ने भएकाले सोही अनुसार पालिकाले नीति निर्माण गरि काम गरिरहेको बताउँनुभयो ।

कुनै पनि कार्यक्रम सन्चालन हुनको लागि सम्बन्धित क्षेत्रका नेतृत्वको भूमिका महत्वपुर्ण हुने भन्दै अध्यक्ष राईले सीप विकासका तालिम संगै व्यवसायमा जोड्ने काम वडा नम्बर ७ मा भैरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले वडा नम्बर ७ मा जुस तथा जाम र ढाका बुनाइ सम्बन्धि तालिम सन्चालन पछि उद्योग सूरु गरिएको भन्दै एक ब्यक्ति एक सीपलाई जोड दिएर काम गरिरहेको बताउँनुभयो ।

तालिममा वडा भित्रका २० जना युवाहरुको सहभागिता रहेको छ । उक्त तालिममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाका भबिन्द्र खत्री, लुक हरि बास्तोला, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।आफ्नै गाउँमा सीप सिक्न पाएपछि युवाहरू हर्षित भएका छन ।

यसैबीच, सोही कार्यक्रममा वडाले उत्पादन गरेको रातो प्याजको बिरुवा पनि वितरण गरिएको छ । यस अघि अकबरे खोर्सानीको बिरुवा वितरण गरेको वडाले अहिले रातो प्याजको विरुवा वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्