रमणीयस्थल कालिन्चोकको अविस्मरणीय यात्रा



  • सुजन शर्मा

    भनिन्छ, जिन्दगी एक अनुभवहरुको सङ्गालो हो जहाँ जीवनका अनेक आरोह-अवरोहका यात्रै-यात्राहरु हुन्छन् । कतिपय यात्राहरुले जीवनमा नयाँ अनुभव दिए पनि खासै महत्व राख्दैनन् भने कतिपय यात्राहरु जिन्दगीभरी सम्झन लायक हुन्छन् ।

यात्रा भनेपछि हुरुक्क हुने मान्छे अझै पहाडको यात्रा ! सुन्दा बित्तिकै मन त पहाडको माथि माथि उडिहाल्यो । चिसो हावा चिसो पानी ! मनलाई जस्तो सहज हामि लाई थिएन । मनको के छ र जतिखेर जहाँ पुग्न सक्छ । तर हामि ? तै पनि कालिन्चोक जाने निर्णय गर्यौ। यात्रामा हामी ५ जना सहभागि थियौ।

हाम्रो कालिन्चोक यात्रा काठमाडौंबाट बिहान करिब ११ वजे सुरु भयो। हाम्रो यात्रा बिस्तारै कंक्रिट सहरलाई छोड्दै हामि दोलालघाट सुकुटे हुदै अगाडि बढ्यौ।

सुनकोसी नदी काटी माथिको बाटो लाग्दा बाहिरको दृश्य पनि साह्रै मनोरम देखीन्थ्यो। माथी हेर्दा लेकै- लेकमा हरियो डाँडाको बाटो र तल हेर्दा सुनकोसी छेउछाउ का बस्ती । जती माथी लाग्दै थीयौं तेति नै चीसोपन बढ्दै थियो।

दुरीको हिसाबले चरीकोटदेखि कुरी मात्र १६ किमि तर कच्ची र उकालो बाटो भएकोले समय भने धेरै नै लाग्यो।चरिकोटबाट लगभग ११ किमी हिंडेपछि हामीले हिउँ देख्न थाल्यौँ । उकालो चढ्दै गर्दा जंगल नै सेतो देखियो ।गुराँसका पोथ्रामा भर्खर लागेका कोपिलामाथि हिउँ फूल मुस्कुराइरहेको थियो । हिउँले पुरिएर हिमाल जस्ता देखिएका पहाड,पातभरी हिउँ बोकेर उभिएका जस्ता देखिने जंगल यो मनमोहक दृश्यले हामी उत्साहित र रोमाञ्चित भैरहेका थियौँ ।

यत्तिकैमा साँझको ५ बजेतिर हामी ‘कुरी गाउँ’पुग्यौ । हाम्रो लागि होटल पहिल्यै बुक भईसकेको थियो। त्यसैले हामी केही ढीला नगरी आफ्ना सर-सामन रूममा राखेर,अलिक फ्रेस भइ घुम्न निस्कियौ।

सेताम्मे हिउँले ढाकिएका पहाड अनि रङ्गिचङ्गि आधुनिक डिजाइनका घरहरु , झट्ट हेर्दा युरोप झै लाग्ने दृश्य। पहिलो पल्ट दोलखा को कुरी बजार पुग्दा यस्तै महसुस भयो, सोचेको भन्दा धेरै सुन्दर ।

तर कुरी बजार को सुन्दरता ले सबै थकान अनि दु:खहरु बिर्साइ दिँदोरहेछ ।

होटेलको आगनैमा आगो बालेर सबैजना वरपर आगो लाई घेरी बसेउ। एकछिनमा नाच्ने गाउने रमाईलो पनि भयो। रातीको खाना खाईसकेर हामी भोली सबेरै उठने निधोले सुतिहाल्यौँ ।

अर्को दिन बिहान ५ बजे उठेर हामी कालिन्चोक भगवती जानको लागि तयार भयौँ । कुरी गाऊँबाट केबलकार लाग्दो रहेछ ।(रू ६०० मा तल माथि जान आउन मिल्दो रहेछ ।) तर हामीले हिडेंरै जाने सल्लाह गर्यौ।

ठाउँठाउँमा विश्रामका लागि स साना फलामका कुर्सीहरु राखिएका थिए । तिनै कुर्सी नजिकै केही बोतल पानी केही पोका चाउचाउ , जडिबुटी , छुर्पी , पुजा सामग्री राखेका पसलेहरु भेटिन्थे । उनिहरुका आशाका नजर हामीतिर तेर्सिएका हुन्थे ।

बेला बेला गुराँशका पोथ्रा समाउँदै , बारहरुमा अडेस लाग्दै उकालो चढिरह्यौँ । उचाइ बढेसँगै विस्तारै पोथ्राहरु छुटे । कहालिलाग्दो भिरको सानो डोरोमा हाम्रो यात्राको सहारा बार र भित्ता बन्यो । जतिसुकै कमजोर वस्तुले पनि सहारा बलियो दिने रहेछ ।

हामि औसत मानिसहरु भन्दा छिटो हिंडिएछ । करिब एक घन्टाको पैदल यात्रापछि कालिन्चोक चुचुरोमा पुग्यौँ । ३८४२ मिटरको उचाईमा थियौँ । चुचुरोमा उभिएर चारैतिर हेर्दा हिमालको चुचुरोमा उभिएको जस्तो लाग्यो । आँखाले देखुन्जेल तल तल सम्मका सेताम्मे पहाडहरु हिमाल जस्ता देखिए ।
यो पवित्रस्थलमा मन्दिरको संरचना बनाउन नहुने किम्बदन्ती रहेछ । जतततै कालिञ्चोक भगवती पूजा–दर्शन गर्ने तिर्थालुको भिड थियो। कोही दर्शन गर्दै थिए कोही वरिपरिको प्रकृतिलाई आ–आफ्ना मोबाइलमा कैद गर्न मग्न थिए। पूजा गर्दा चढाएका ध्वजा, त्रिशुल र घण्टहरुले सजिएको रहेछ थान । साँघुरो लाम्चो परेको साँघुरो चुचुरोमा थोरै समथर भाग रहेछ । खुला आकाशमुनि सजिएकी देवी भगवतीको दर्शन गर्यौँ ।

दर्शन संगै हिमालहरुको दृश्यलोकन पश्चात हामि बिस्तारै कुरि तर्फ ओरालो झर्न थाल्यौ। ओरालो झर्दै गर्दा उकालो जानेहरुलाई उत्साह थप्दै यात्राकै गफको सुरमा कुन बेला वेलुका बस्को होटलमा आइपुगेछौ पत्यै भएन।

होटल आएपछि होटलको दाईले मिठो कफिले स्वागत गर्नुभयो।

केहि छिन कफि संगै गफिदै गरेपछि होटलबाट चेक आउट गरेपछि हामि हाम्रो कार्यस्थल तर्फ मोडियौ।

जीवनमा एक पल्ट चाँही पुग्नै पर्ने ठाउँ रहेछ कालिन्चोक ।
(लेखक लिखुपिके गाउँपालिकाका इन्जिनियर हुन्)

प्रतिक्रिया दिनुहोस्