देउसामा एकै दिन चारवटा कार्यक्रम, अध्यक्ष राईले गरे चिस्यान केन्द्र उद्घाटनदेखि क्लब भवनको शिलान्याससम्म
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसामा एकै दिन चार वटा कार्यक्रम सम्पन्न भएका छन् । शुक्रबार गाउँपालिका अध्यक्ष असिम राईले कोल्ड स्टोर र रनेम सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुभयो भने सरस्वती आधारभुत विद्यालय र त्रिवेणी जनसुधार युवा क्लव भवनको शिलान्यास गर्नभएको हो ।
गाउँपालिकाको लगानीमा वडा नम्बर ८ को बुढिडाँडामा निर्माण भएको चिस्यान केन्द्र कोल्ड स्टोरको उद्घाटन गर्दै अध्यक्ष राईले कृषकको मर्म र भावना अनुसार बजेट निर्माण गरि कार्यन्वयन गरिरहेको बताउँनुभयो । देउसामा सबैभन्दा बढी सुन्तला फल्ने भएकाले यसलाई कोल्ड स्टोरमा राखेर बिक्री गर्दा कृषक र उपभोक्ता दुबैलाई फाइदा हुने उहाँको विश्वास छ । करिब ७५ लाखको लागतमा कोल्ड स्टोर स्थापना गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
देउसा कृषि बन श्रोत केन्द्र मार्फत सञ्चालन हुने कोल्ड स्टोरमा परीक्षणको लागि दुई महिना अघि राखिएको सुन्ताला राम्रो रहेको भन्दै केन्द्रका अध्यक्ष तिलक बहादुर राईले परीक्षण सफल भएको बताउँनुभयो । उक्त केन्द्रमा हाल २१ टन सुन्तला भण्डारण गर्न सकिने बताइएको छ । यसको प्रभावकारीतालाई हेरेर भण्डारण क्षमता बढाउने गरि संरचना निर्माण गरिने पालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।
रनेम सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन
थुलुङ दुधकोशीको रनेम सामुदायिक स्वास्थ्य इकाईको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको .छ । रणेम क्षेत्रका नागरिकलाई लक्षित गरि स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।यस अघि त्यस क्षेत्रका नागरिक सामान्य सिटामोलका लागि पनि एक घण्टाको यात्रा पछि बुढीडाँडा स्वास्थ्य चौकीमा पुग्नुपर्ने बाध्यता थियो । सोही बाध्यताको अन्त्य गराउने उदेश्य सहित स्वास्थ्य इकाई स्थापना गरि सेवा सुरु गरिएको पालिका अध्यक्ष असिम राईले बताउँनुभयो
बढीडाँडामा सरकारी संरचना स्थापना गरिएको थियो । संघीय संरचना पछि रनेममा वडा कार्यालयको जग्गा व्यवस्थापन गरि भवन निर्माण पश्चात सेवा प्रवाह भइरहेको छ ।
नागरिकको समस्यालाई केन्द्रमा राखेर काम गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिदै पालिका अध्यक्ष असिम राईले रनेम क्षेत्रका नागरिकको एकताले आफुहरुलाई प्रेरित गरेको बताउँनुभयो ।
तीन कोठे विद्यालय भवन शिलान्यास
सोही वडाको रनेममा सरस्वती आधारभुत विद्यालयको तीन कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार पालिकाको १२ लाख ५० हजार लागतमा निर्माण हुने भवनको शुक्रबार पालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास गर्दै पालिका अध्यक्ष असिम राईले भौतिक संरचना संगै भविष्यका कर्णधार विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । आवश्यकताको आधारमा भौतिक संरचना निर्माणका लागि बजेट बिनियोजन गरिएको भन्दै अध्यक्ष राईले अपुग बजेट व्यवस्था हुनेभएकाले गुणस्तरीयतामा सम्झौता नगर्न पनि निर्माण समितिलाई निर्देशन दिनुभयो ।
कक्षा तीन सम्म पढाइ हुने उक्त विद्यालयमा ३८ जना छात्रछात्रा अध्ययनरत छन् । भौगोलिक हिसाबले नजिकै विद्यालय नहुँदा उक्त विद्यालयलाई कक्षावृद्धि गर्नुपर्ने स्थानीयबासीले माग राखेका छन् ।
त्रिवेणी जनसुधार युवा क्लव भवनको शिलान्यास
सोही वडाको रनेममै शुक्रबार त्रिवेणी जनसुधार युवा क्लव भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले उक्त भवनको शिलान्यास गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
वडाको रु. ३ लाख ५० हजार बजेट बाट उक्त भवन निर्माण गरिने वडा अध्यक्ष राजेश किराँतीले बताउँनुभयो । भवन निर्माण हुनेभएपछि स्थानीयबासी हर्षित भएका छन् । आफुले निर्वाचित गरेको जनप्रतिनिधिको सक्रियता देखेर यहाँका नागरिक खुसी भएका छन् । गाउँपालिका अध्यक्ष असिम राई शुक्रबारनै काठमान्डौबाट आएर उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष राजेशबाबु किराँती, वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की सहितको उपस्थिति रहेको थियो ।