थुलुङ दुधकोशीले १० गते बजेट ल्याउने,तोक्यो वडागत सिलिङ



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले वडालाई आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बनाउनका लागि सिलिङ दिएको छ । अब पालिका भित्रका सबै वडाले आफुले प्राप्त गरेको बजेट सिलिङभित्र रहेर आगामी वर्षको कार्यक्रम बनाउनुपर्ने हुन्छ ।

पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको श्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठले तीन सूचकको आधारमा वडागत बजेट सिलिङ दिएको हो । वडाको जनसंख्या, क्षेत्रफल र राजस्व संकलनलाई बजेट सिलिङको लागि सूचक मानिएको छ ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार सबैभन्दा बढी वडा नम्बर ९ ले ८९ लाख ८६ हजार ३ सय ८६ रुपैयाँ प्राप्त गरेको छ । यस्तै दोस्रोमा वडा नम्बर १ नेलेले ७८ लाख २० हजार १ सय ७६ प्राप्त गरेको छ ।


समितिको बैठकले आगामी वर्ष २०८१/०८२ मा विभिन्न शिर्षकबाट गाउँपालिकाको श्रोत रु. ६० करोड २३ लाख ८४ हजार रहने अनुमान गरेको छ ।

संविधान अनुसार स्थानीय सरकारले असार १० गते बजेट ल्याउनेछ । जेठ ३१ गते देखि असार १० गते सम्मको लागि थुलुङ दुधकोशी गाउँपालिकाले बजेट क्यालेन्डर निर्माण गरि काम गरिरहेको छ । निर्धारित समय असार १० गते गाउँसभामा पालिकाको नीति तथा कार्यक्रम पेस हुने प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्