नगरप्रमुख शेर्पाको पहलमा जोरबौद्द- नेले सडक मर्मत सुरु हुने



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको जोरबौद्दबाट थुलुङ दुधकोशी गाउँपालिका नेलेसम्मको सडक मर्मत सुरु हुने भएको छ।

सडक बोर्डले छुट्याएको ५० लाख बजेटबाट सो सडक खण्ड मर्मतको काम सुरु हुन लागेको सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।लामो समय आफुले गरेको पहलपछि सो सडक खण्ड मर्मतका लागि बोर्डबाट बजेट छुट्टिएको वहाँको भनाई छ।

पूर्बाधार बिकासमा सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर अघि बढेको बताउंदै वहाँले नगर क्षेत्रभित्रका कतिपय सडक खण्डको पनि यतिबेला धमाधम मर्मत र सफाई भइ रहेको जानकारी दिनुभयो।

मेयर शेर्पाका अनुसार बर्षाले क्षति पुर्‍याएको केरुङ-शिकारी डांडा-सिसाखोला-गोरा सडक खण्डको मर्मत र फाप्लु-बेनी-थुप्तेन छोलिङ गुम्बा सडक स्तरोन्नतिको काम यतिबेला धमाधम भइ रहेको छ।

एसियाली बिकास बैंक (एडीबी)को आर्थिक सहयोगमा फाप्लु-रिम्मु-टाक्सिन्दु सडक कालोपत्रेका लागि टेण्डर आव्हान भइ सकेको जानकारी पनि वहाँले दिनुभयो।

नगरपालिकाले अहिलेसम्म झण्डै एक दर्जन बढी पुलहरु निर्माण गरेको छ, मेयर शेर्पाले भन्नुभयो- ‘बर्षाका कारण आएको बाढी पहिरोले यति धेरै क्षति गर्दा पनि नगरपालिकाले निर्माण गरेका सबै पुल सुरक्षित छन्।सामान्य क्षति पनि पुगेको छैन।’

प्रतिक्रिया दिनुहोस्