बडा दशैं:एकैदिन पर्यो महाष्टमी र महानवमी ,पुजा आराधना गरेर मनाउँदै



केदार बस्नेत,काठमाडौं । बडा दशैं भित्रिएसँगै नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ।  तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकैदिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । यस्तै महानवमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

दुवै तिथि एकैदिन परेकाले आम नागरिकहरुमा कुन तिथिमा के गर्ने भन्ने कुराको दुविधापनि हुनसक्छ। महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ। पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिने परम्परा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्