स्थितिगत्यात्मक प्रगतिवादबारे राष्ट्रिय संगोष्ठी सम्पन्न
काठमाडौँ। शनिबार (१० कात्तिकमा) हात्तीवन, ललितपुरस्थित काठमाडौं विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको सहृदयता समाज नेपालले जानकारी दिएको छ ।
प्रसिद्ध शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले उद्घाटन गरेको संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक,वरिष्ठ मनोचिकित्सक,सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा.अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज-वक्तव्य (कीनोट स्पीच) दिए। उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थावद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टीएन जोशी,नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति प्रा.डा.मुकुन्दप्रसाद लामिछाने र डिभाइन पाथ इन्टरनेसनलकी अध्यक्ष,योगाचार्य एवं समाजशास्त्री योगिनी सरितानन्दी लगायतले मन्तव्य राखे ।
संगोष्ठीको समापन सत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल,त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम,सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर् लाइफ अभियानका अभियानकर्ता डा.हरिश्चन्द्र कमली, प्रा.डा.नारायणप्रसाद गड्तौला र सहृदयता समाज नेपालका अध्यक्ष सुशील गौतमलगायतले मन्तव्य राखे ।
दुईवटा सत्रहरूमा प्यानल डिस्कसन (विद्वत् विमर्श) भएको संगोष्ठीमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता तथा पेशाकर्मीहरूले स्थितिगत्यात्मक प्रगतिवादका विभिन्न आयामहरूबारे विचारविमर्श गरे। तीनवटा समानान्तर सत्रमा २३ जना शोधार्थीले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरे ।
काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख, जरोकिलो महाअभियानका संकल्पकर्ता एवं सिद्धान्तकार डा. निर्मलमणि अधिकारीले वि.सं. २०७६ सालमा नौवटा प्रवचन-शृङ्गलामार्फत् ‘स्थितिगत्यात्मक प्रगतिवाद’ सिद्धान्तको व्याख्या गरेका थिए। वैदिक दर्शनका आधारमा डा. अधिकारीले सामाजिक- सांस्कृक्तिक एवं अर्थराजनीतिक दृष्टिकोणबाट समाज विकासको सिद्धान्त प्रस्तुत गरेका हुन् ।
यसबारे विभिन्न भाषामा पुस्तकहरू, अनुसन्धानपत्र तथा लेखहरू प्रकाशित भइसकेका छन् । डा. अधिकारीद्वारा प्रतिपादित ११ वटा सिद्धान्त एवं अवधारणामा केन्द्रीत रही निकट भविष्यमै अन्तर्राष्ट्रिय संगोष्ठी समेत आयोजना गरिने जानकारी सहृदयता समाजका अध्यक्ष गौतमले दिएका छन् ।