सोलुखुम्बुको हिमाल दर्शन माबिले बनायो आफ्नै विद्यालय गान



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।नेचासल्यानको वडा नं ३ मा रहेको श्री हिमाल दर्शन माध्यमिक विद्यालयले विद्यालय शैक्षिक गान सार्बजनिक गरेको छ।

स्थापनाको ५० बर्ष पुगेको अवसरमा आगामी माघको दोश्रो हप्ता स्वर्ण जयन्ती मनाउने तयारी गरिरहेको सो विद्यालयले त्यसैलाई लक्षित गरी विद्यालय गान तयार गरेको विद्यालय ब्यबस्थापन समिति सदस्य तथा हिमाल दर्शन स्वर्ण जयन्ती मूल आयोजक समितिका प्रचार संयोजक नवराज जमरकटेलले जानकारी दिए।

विद्यालय ब्यबस्थापन समिति अध्यक्ष एबम् स्वर्ण जयन्ती मूल आयोजक समितिका संयोजक ओमप्रसाद बास्तोलाको अध्यक्षतामा शनिबार बसेको सचिवालय बैठकले सर्बसम्मत पारित गरेपछि विद्यालय शैक्षिक गान सार्बजनिक गरिएको हो।यो सार्बजनिक भएसंगै आफ्नै विद्यालय शैक्षिक गान सार्बजनिक गर्ने हिमाल दर्शन सोलुखुम्बु जिल्लाको दोश्रो विद्यालय बनेको छ।यसअघि सदरमुकाम सल्लेरीस्थित जजा माबिले आफ्नो विद्यालय गान सार्बजनिक गरेको थियो।

‘जय जय हिमाल दर्शन’बोलको विद्यालय गानमा सोही विद्यालयका शिक्षक प्रकाश बाहिङ राईको शब्द,गायक तथा संगीतकार भुवनसिं राईको संगीत तथा शिलाबहादुर मोक्तानको एरेञ्जसंगै भुवानसिं राई, किरण राई,मुना राई र श्रेया राईले स्वर रहेको छ।

स्वर्ण जयन्तीका अवसरमा विद्यालयले गरेको’पचास बर्ष,पचास संकल्प’ मध्ये विद्यालय शैक्षिक गान छैटौं सकल्प भएको जमरकटेलको भनाई छ। ५० संकल्पमध्ये ४० विद्यालय र १० वटा पूर्ब विद्यार्थी समाजका हुन्।

सचिवालय बैठकले विद्यालयको स्वर्ण जयन्ती माघ १४ गते उद्घाटन गरी २० गते समापन गर्ने निर्णय गर्नुका साथै स्वर्ण जयन्ती २०८१ को आय व्ययलाई व्यवस्थित गर्नका लागि आवश्यक कागजातहरुलाई अभिलेखीकरण गर्ने जिम्मेवारी सचिवालय सदस्य प्रेमकुमार कटेललाई दिएको छ।

मूल समारोह समितिका संयोजक बास्तोलाले हालसम्म भए गरेका प्रगति विवरण प्रस्तुत गरेको सचिवालय बैठकले हिमाल दर्शन स्वर्ण अक्षयकोष स्थापनार्थ सञ्चालित देउसी भैलोको आय व्यय विवरण अनुमोदन पनि गरेको छ।देउसी भैलोबाट जम्मा २ लाख ७२ हजार १ सय ९३ संकलन र त्यसमध्ये ९६ हजार ४ सय ३६ रुपैयाँ खर्च भएको छ। खर्च कटाएर बचेकाे १ लाख ७५ हजार ७ सय ५७ रुपैयाँ स्वर्ण अक्षयकोषमा जम्मा गरिएको प्रचार संयोजक जमरकटेलले बताए।


निर्माण गर्न लागिएको स्वर्ण स्तम्भ

हिमाल दर्शन स्वर्ण अक्षयकोषको नाममा सङ्कलन भएको रकम जम्मा गर्न विद्यालय व्यावस्थापन समिति अध्यक्ष र विद्यालयका प्रधानाध्यापकको संयुक्त दस्तखतमा सञ्चालन हुने गरी राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेचा विहिवारेमा चल्ती खाता खोली ५,लाख ८८ हजार ९८८ मध्ये रु.५ लाख ८५ हजार मुद्धती खातामा जम्मा गर्ने निर्णय गर्दै बैंठकले ५० हजार भन्दा माथि आर्थिक सहयोग गर्ने दाताहरुको नाम, ठेगाना र इच्छाएको व्यक्तिको नाम स्वर्ण स्तम्भको शीर्ष भाग ताम्रपत्रमा,२५ हजार भन्दा माथि स्वर्ण स्तम्भको अग्रभाग शिलालेखमा ,१० हजार भन्दा शिलालेखमा र ९ हजार ९ सय भन्दा कम आर्थिक सहयोग गर्नेहरुको नाम विद्यालयद्वारा प्रकाशन गरिने हिमाल स्मारिका-३ (स्वर्ण विशेषाङ्क) मा नाम प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्