बाँच्नु नै जीवन रहेछ



सुबास जमरकट्टेल

मानव जीवन जन्म र मृत्यु बीचको चक्रमा चलायमान हुने गर्छ। मलाई लाग्छ मान्छे जन्मेपछि विभिन्न आरोह अवरोहहरु पार गर्दै आफ्नो दैनिकी चलाउने गर्छ । कति मान्छेहरु आफ्ना दैनिकीले जीवित रहन्छन् कति जीवित हुँदै पनि कुनै सत्कर्म गर्न नसक्दा बेनाम हुन्छन । यही अभियानमा मान्छे आफूलाई सहजताको खोजी गर्छ र आफ्नो जन्मभूमि छोडेर सहर सहर हुँदै विदेशसम्म पुग्छ।

म पनि त्यही यात्रामा जन्मभूमि छोडेर कर्मभूमिको रुपमा काठमाडौँ खाल्डो भित्र रहँदै गर्दा फेरि खाल्डोमा हटाउने सम्भावना भएन विभिन्न अवसरहरूको खोजी गर्दै म कर्मभूमिको रुपमा सिन्धुलीमा पुगे । सरल जीवनलाई मान्छेले नै फेरि जटिल बनाउने रहेछ। सहर धपक्क बलेको थियो बत्तीहरूले सजिएको थियो र सहरका मान्छेहरु बाहिरी हाँसो हाँसिरहेकै थिए हरेक यात्रीहरु आफ्नै गन्तव्यमा यात्रारत हुन्छन् जसरी खोलाले सागर नभेटुन्जेल दौडिरहन्छ त्यसरी नै मान्छेहरू पनि आफ्नो यात्रामा दौडिरहन्छ। यो यात्राको क्रममा मान्छेले कहिल्यै नसोच्ने रहेछ। जिन्दगीका सप्निल सपनाहरू सबै पूरा हुँदैनन् भनेर । कर्मपथमा लम्किएका पाइतालाहरु जब जंगली काँडामा पर्छन् तब यात्रा बीचमै रोकिने रहेछ। देखेका स्वप्निल सपनाहरू पनि बीचैमा हराउने रहेछन्। हो मैले पनि कर्मपथमा लम्किँदै गर्दा कहिले पनि यति ठूलो ठेस लाग्ला यति भयानक काँडामा टेक्नु पर्ला सोचेकै थिएन। २०७४ साल पुस १८ गते यात्रामा निक्लिँदै गर्दा मेरो पनि यात्रामा भयानक बाधा आइ लाग्यो। झन्डै झन्डै जिन्दगीकै यात्रा समाप्त भयो।

गन्तव्य एकातिर थियो तर यात्रा त्यहीँबाट मोडियो। सडक दुर्घटनाको भयङ्कर खाडलमा जीवनको यात्रा पुग्यो। म बेहोस भए । साथीहरूको हाल के भयो थाहा भएन अचानक सबेेेैतिर हल्ला फैलियो घर आफन्त सम्म यो हल्ला पुग्यो र मलाई हेलिकप्टरबाट रेस्क्यु गरेर मेडिसिटी हस्पिटल पुर्याइएछ। गाउँ समाज साथीभाइमा फैलिएको हल्ला कतै सही हल्ला फैलियो कतै केही परिवर्तन भएर पुग्यो? कसैले ऊ अन्तिम अवस्थामा छ भने कसैले ऊ छँदै छैन भनेर हल्ला पुर्याएछन् । कति साथीहरुले सिन्धुलीबाट रेस्क्यु गरेर मेडिसिटी ल्याएको खबर हल्लामा परिवर्तन हुँदा घाटमा लगेको सम्म हल्ला फैलिएछ। सोही हल्लाका कारण कतिपय साथीहरु घाटसम्म पुग्नुभएछ। वृद्ध भएका बुबाआमा पहाडमा हुनुहुन्थ्यो। अकेला श्रीमती घरमा नानीबाबु स्कुलमा सबैतिर रुवाबासी चल्यो । टोल समाजमा सन्नाटा छायो ।

हस्पिटलमा पुर्‍याएपछि डाक्टरले पहिलो वाक्यमै उहाँको मेरुदण्ड पक्षघात भएको छ। अब उहाँ उठ्ने सम्भावना छैन। हामी उहाँलाई बचाउन सक्छौं तर उहाँको मेरुदण्डलाई बचाउन सक्दैनौँ। अब उहाँको आजीवन हुईल चेयरको बास हुन्छ। यति सुनेपछि श्रीमती को होस् हवास नै उडेछ । आफन्तजन मभन्दा बढी शिथिल हुनुभयो। दश दिनको आइसु बसाई तीन दिनको कोमाको बसाइ बाट निक्लिँदै गर्दा मेरो शरीर क्षतविक्षेत भइसकेको रहेछ। शरीरमा ऊर्जा भन्ने थिएन। पिसाब थैली झुन्डाइएको थियो करङभन्दा माथिबाट ठूलो पाइप जत्रो एउटा पाइपमा पानी निकालिएको थियो त्यसैगरी मुटु सम्मै पुग्नेगरी सलाइनका तीन चारवटा पाइप हरू जोडिएको थियो। यसो साइडमा एक पोका ब्लड झुण्ड्याइएको थियो अर्को साइडमा स्लाइनका बोतल झुन्डाइएको थियो लाग्छ जिन्दगी अहिले बाँच्नका लागि संघर्ष गरिरहेछ । आइसियुबाट निकालेको दिनदेखि आफन्त साथीभाइहरू भेट्न आउने जाने चलिरह्यो । मलाई भन्दा बढी उहाँहरुलाई पीडा थियो। सबैलाई अब सुरेश उठ्दैन भन्नेमा पिर थियो । मलाई अहिले उठ्छु जस्तो अहिले हिँड्छु जस्तो लाग्थ्यो तर शरीर चटपटाउन सक्ने अवस्थामा थिएन। बेडमा एक पाटोबाट अर्को पाटो फर्किनलाई नै तीनजना आफन्त साथीहरुले फर्काउनु पर्थ्यो । खाना अर्कैले खुवाइदिनु पर्थ्यो। पानी अर्कैले खुवाइदिनु पर्थ्यो। शरीर पुरै प्यारालाइसिस थियो। मैले कहिले सोचेको थिइन। मलाई यति भयङ्कर चोट लाग्छ अनि आफन्तले मलाई खाना खुवाउनुपर्छ। पानी प्याउनुपर्छ । दिशा पिसाब सोर्नुपर्छ । राल सिगान पुछिदिनुपर्छ । मैले अरुलाई यसरी दुःख दिने कदापि सोचिन तर भाग्यवस आज त्यो घटना घट्यो । हेर्छु सबैका अनुहार पीडाले भरिएका छन्। मलाई दुर्घटनाका चोटको पीडा छ। उहाँहरुलाई मेरो पीडा छ। ती मलिन मुखाकृति हेर्दै गर्दा पनि मैले उठेर केही गर्नुपर्छ उहाँहरुलाई मैले साथ सहयोग दिनुपर्छ अथवा उहाँहरूको भावना अनुसार मैले चल्नुपर्छ भनेर साहस भर्दै गए। हेर्थे अब संसार अन्धकार छ तर आफन्तहरूको लागि साथी संगीहरूको लागि भएपनि मैले उठ्ने साहस गर्नुपर्छ। र उठेर देखाउनुपर्छ । आफन्तहरूले पनि यो खालको चोट लागेका विभिन्न घटनाहरु सुनाउनुभयो। उठ्ने सम्भावना कमै देख्नुहुन्थ्यो । दुई दुई घण्टामा डाक्टरको राउन्ड हुन्थ्यो। डाक्टर गोपाल रमण शर्मा प्रकाश पौडेल लगायतको टिमले मलाई हाइकियरमा राखेर हेरेको थियो। उहाँहरुले सही सल्लाह सुझाव दिनुहुन्थ्यो। र जिन्दगी जस्तो परिस्थिति आउँछ सोही अनुसार चल्नुपर्छ भनेर सुझाव सल्लाह दिनुहुन्थ्यो।

मलाई बेडबाट उठ्न मन लाग्यो। बस्न मन लाग्थ्यो। आफै खाना खान मन लाग्थ्यो। तर यो कुनै कुरा सम्भव थिएन उठेर बस्ने कुरा त परै जाओस्। कोल्टे फर्कन सक्ने अवस्था थिएन । तर पनि म आफन्तजनको पीडालाई कम गराउन म छिट्टै उठ्छु। अब ठिक भइसक्यो भनेर भन्थे। यति सुन्दा पनि उहाहरु निकै खुसी हुनुहुन्थ्यो । उहाँहरूको अनुहारमा अलिअलि खुसीको भाव झल्किन्थ्यो। तर मेरो भित्रभित्रै पीडाले खाइरहेको हुन्थ्यो । मेरो उपचारको लागि आफन्तजन साथीभाइ छरछिमेकीले हदैसम्मको दुःख गर्नुभयो। सबै खालको साथ सहयोग जुटाउनुभयो। र मलाई उठ्ने साहस प्रदान गर्नुभयो। मैले धेरै साथीहरु कमाउनु नै ठूलो कुरा रहेछ। हस्पिटलमा कहिले एक्लो महसुस गर्नु परेन प्रेरणाका भावहरु सुनाइरहनु भयो। जसले गर्दा ममा सकारात्मक ऊर्जा ऊर्जा थपिरह्यो ।

मेडिसिटीको लामो बसाइपछि फिजियोथेरापीको लागि बनेपाको साँघा स्थित ्पाइनल इन्जुरी रियाबिस स्टेसन सेन्टर पुर्‍याइयो। त्यहाँको वातावरण छ नै राम्रो रहेछ। सबै एकै खालका बिरामी सबैको पीडा एउटै सबैको अवस्था एउटै सबैको दशा एउटै अब हामी सबै एकै खालका एकले अर्कोलाई हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो । भाग्यवस मेरो उपचारमा केही संस्था आउँदै गयो चल्दैन भनेका हात खुट्टाहरु चल्न लागे उठ्दैन भनेको शरीर केही उठ्ने हुन थाल्यो र जसरी बाहिर बोट बिरुवामा पालुवा पलाउँदै थिए त्यसैगरी मेरो जीवनमा पनि केही नयाँ पालुवा थपिँदै गयो । बिस्तारै बिस्तारै फिजियोथेरापीले मेरा अचल अङ्गहरू चल्न थाले। खुट्टाहरु हल्लिन लागे। र बिस्तारै केही महिनापछि खुट्टाहरु टेकिन थाले वैशाखीको भरमा टेकेका खुट्टाहरु बिस्तारै आफै उभिन सक्ने हुन थाले । मेरो परिवारलाई, आफन्तजनलाई, छर छिमेकी र साथीभाइहरूलाई योभन्दा ठूलो खुसी अरु के हुन सक्छ।

एक वर्षको बसाईपछि म हस्पिटलबाट डिस्चार्ज भएर घरमा आएँ। घरमा बिस्तारै थप सुधार हुँदै गयो । त्यसैले लाग्छ जिन्दगी बाँच्नु नै ठूलो कुरा रहेछ। बाँच्यो भने औषधि उपचार लाग्ने रहेछ। संसार देखिने रहेछ। आफन्त साथीभाईहरूसँग उभिन सकिने रहेछ। यो भयानक दुर्घटनाबाट शरीरको आधा भाग गुमाएको अथवा शरीरको लय गुमाएको आज पाँचौं बसन्त पुरा भएछ । अझै सयौं बसन्तहरू बाँच्नु छ । समाजको लागि केही गर्नुछ त्यसैले जिन्दगीका यी उतारचढावहरूमा सदैव साथ सहयोग र सपोर्ट गर्नुहुने आमाबुवा घरपरिवार साथीसंगी छरछिमेकी नरनाता सबैलाई कोटिकोटी नमन गर्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्