स्थानीय स्रोत शिक्षकका लागि समावेशी शिक्षा सम्बन्धी चारदिने तालिम सल्लेरीमा सुरु



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।स्थानीय स्रोत शिक्षकका लागि समावेशी शिक्षासम्बन्धी ४ दिने क्षमता अभिवृद्धि तालिम सोलुखुम्बुको सल्लेरीमा आजबाट सुरु भएको छ।

रीड नेपालको आयोजना,नगरपालिका र गाउँपालिकाको समन्वय तथा अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । तालिममा सोलुखुम्बुका सात वटा स्थानीय तहका २१ जना स्थानीय स्रोत शिक्षक र बझाङको खप्तड छान्ना गाउँपालिकाका ११ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङले गर्नुभएको हो ।उपमेयर तामाङले समावेशी शिक्षा आजको आवश्यकता भएको बताउँदै महत्त्वपूर्ण तालिमको आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिँदै शिक्षा विकासको मेरुदण्ड भएकोले नगरपालिकाको मुख्य ध्यान शिक्षा क्षेत्रमा रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले सोलुखुम्बुमा शिक्षा क्षेत्रमा राम्रो सुधार भएको बताउँदै यसको श्रेय रीडलाई जाने बताउनुभयो । त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख सन्तोष राउतले रीडको तालिम आफूले पनि पटक पटक लिएको बताउँदै तालिम निकै प्रभावकारी हुने बताउनु भयो।

तालिममा सहभागी हरुलाई स्वागत तथा तालिमको उद्देश्य माथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले तालिमको मूख्य उद्देश्य समावेशी शिक्षालाई बढवा दिने उद्देश्य रहेको बताउनुभयो । शिक्षण सिकाइ क्रियाकलापमा समावेशीतालाई मूख्य ध्यान दिने बताउदै विभिन्न अबरोध भएता पनि हामीले चाहेको खण्डमा त्यस्ता अवरोधहरु कम गर्न सकिने हुँदा शिक्षकलाई समावेशी शिक्षाको राम्रो ग्यान हुनुपर्ने बताउनु भयो।

कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महर, शिक्षा विकास संयोजक केशव देव गिरी,सम्वृद्धि खप्तड छान्ना शिक्षा तथा स्वास्थ्य सुधार परियोजनाका प्रबन्धक देवराज खत्री र रीड नेपालका प्रशिक्षकहरुले सहजीकरण गरिरहनु भएको छ। ४ दिनको तालिम बिचमा बझांग र सोलुका शिक्षक बीच अनुभव साटासाट र केही विद्यालय अवलोकन भ्रमण गर्ने समेत आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्