चर्चित ४० वटा भ्रष्टाचारकाण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्छ: थापा
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न भएको पुष्टि भएका कांग्रेसका जोसुकैलाई पनि कारबाही हुने बताएका छन् ।
पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताउँदै सहकारी होस् वा मान्छे बेचबिखनमा संलग्न दोषी देखिए जोसुकैलाई पनि कारबाही गर्ने बताएका हुन् ।
उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन । आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नुहुन्न, दोषी जो भए पनि उम्कनुहुन्न ।’
महामन्त्री थापाले चर्चामा रहेका ४० भन्दा बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।
उनले भने, ‘मैले प्रचण्डजीलाई अगाडि राखेरै भनेको हो । सरकार सँगै बसेको हुन्छ, यस्तो मायाप्रेम देखिन्छ, अहिले ४० वटा ललिता निवास, गिरीबन्धु, क्यान्टोनमेन्टलगायत जेसुकै हो । सबैको छानबिन गर्नुपर्छ ।’
उनले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने बताउदै उनले भने ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ । सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ । बाहिर देशहरुमा पनि गठबन्धनको सरकार नहुने होइन । त्यसमा पनि एउटा संस्कार र संस्कृति हुन्छ । त्यो हाम्रो स्वभावसँग मिलेन । त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ । हामीलाई समावेशिता पनि चाहिएको छ। त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’file foto