सगरमाथा क्षेत्रमा जोडियो सडक सञ्जाल,प्रधानमन्त्री ओलीद्वारा ङिम दोर्जी शेर्पा पर्यटन सडक उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गरेका छन् ।
निक्कै विकट क्षेत्र हुँदै २ बर्ष बढीको प्रयास पश्चात खुम्बु क्षेत्र जोड्ने सडकको ट्रयाक ओपन कार्य यसै महिनामात्र पुरा भएको बताईएको छ।सोलुदुधकुण्ड नगरपालिका,माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बु क्षेत्र पुगेको सडकको ट्रयाक ओपनका क्रममा खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं.१ खरिखोलादेखि सुर्केसम्मको करिब २५ किलोमिटरमा १६ करोड बढी लागत लागेको पालिकाले जनाएको छ ।
सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुको पर्यटकीय विकासमा सडकले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
प्रधानमन्त्री ओलीले सडक पूर्वाधारले सोलुखुम्बुको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । सडक सञ्चालनमा आएसँगै सोलुखुम्बुका पर्यटकीय क्षेत्रहरूमा सहज पहुँचका लागि यातायात थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । यस सडकको निर्माणले हालसम्म खुम्बु क्षेत्र पुग्न हवाई जहाज मार्फत लुक्ला ओर्लनु पर्ने वा हिडेर मात्र पुग्न सकिने बाध्यता हट्ने आशा स्थानीयले व्यक्त गरेका छन्।