सोमबार पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना



काठमाडौँ । मौसममा आएको फेरबदलसँगै सोमबार पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।

महाशाखाका अनुसार आज आइतबार राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । यस्तै, सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैबीच, शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ । शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो । मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्