१५ वर्षमा १४ वटा सरकार बनाएर नेपालले अस्थिरताको विश्व किर्तिमान कायम गरेको छ : लावती
धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले पात्र,प्रणालीका साथै देशमा विद्यमान चौतर्फी संकटबाट निकास दिन जनता केन्द्रीत परिवर्तन भन्दा अर्को विकल्प नभएको बताएका छन् ।
‘छब्बीस सय नेपाली दैनिक विदेश जान्छन् । यस अर्थमा नेपाल सबैभन्दा ठूूलो संख्यामा नागरिक विदेश पलायन हुने देश बनेको छ, त्यसैले नेपाली समाज युवाविहीन बुन्छ कि भन्ने चिन्ता छ । विदेशी ऋणभार बढ्दो छ, नेपालीहरु जन्मदै ९० हजार रुपैयाँ ऋण बोकेर जन्म लिन्छन् । आर्थिक अवस्था ओरालो लाग्दो छ, भ्रष्टाचार बढ्दो छ,’ प्रवक्ता लावतीले धनकुटा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रमको क्रममा बिहीबार भने ।
‘१५ वर्षमा १४ वटा सरकार बनाएर नेपालले अस्थिरताको विश्व किर्तिमान कायम गरेको छ । राजनीतिक स्थायित्व मात्र होइन प्रजातान्त्रिक पद्धति नै संकटमा छ, कानुनी राज्य, नियन्त्रण सन्तुलन र जवाफदेहीतामाथि प्रश्नचिन्ह छ । जनता आक्रोशित छन् । त्यसर्थ पात्र र प्रणालीमा उत्पन्न समस्या निराकरण गर्न सार्थक परिवर्तन आवश्यक भएको छ,’ उनले भने ।
राप्रपाले सबै विचार र शक्ति अट्ने नवीन समझदारीको ४० बुँदे प्रस्ताव अघि सारेको छ ।
विकास र समृद्धीको गतिमा छिमेकी मुलुकहरुको तुलनामा नेपाल धेरै पछि परेको भन्दै राप्रपाका केन्द्रीय सदस्य कुमार थापाले बाह्र बुँदे सहमतिको मार्गचित्र परिवर्तन गर्नु पर्ने समय आएको बताए ।
परिवर्तनको अपरिहार्यता, आन्तरिक तथा विश्व परिवेश, धर्म संस्कृति तथा राष्ट्रिय पहिचान, आन्दोलन परिचालन तथा संचालनका विषयमा केन्द्रीत रहेर प्रवक्ता लावती तथा राष्ट्रिय प्रजातान्त्रिक भुपु सैनिक संगठनका केन्द्रीय सदस्य केबी थापाले धनकुटा जिल्लास्तरीय प्रशिक्षण संचालन गरेका थिए ।
काठमाडौंमा हुने निर्णायक आन्दोलनको तयारी स्वरुप राप्रपाले सतत्तरै जिल्लामा प्रशिक्षणहरु संचालन गरिरहेको छ ।