जाडोबाट जोगिन उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोबाट जोगिन उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
यस वर्षपनि उपकरणहरूको सावधानीपूर्वक प्रयोग नगर्दा केहि व्यक्तिहरू अस्पतालमा उपचाररत छन् । आगो ताप्ने,हिटर बाल्ने वा गिजर आदि उपकरणहरूको प्रयोग गर्दा यदि घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जम्मा हुन सक्छ । कार्बन मोनोअक्साइड गन्ध, रंग र स्वादरहित एक विषाक्त ग्यास हो । जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान पनि जान सक्ने मन्त्रालयले जनाएको छ ।
तसर्थ आगो ताप्ने, हिटर बाल्ने वा गिजर चलाउने कार्य केवल हावा ओहोरदोहोर हुने स्थानहरू वा कोठामा मात्र गर्नुहुन, सकेसम्म कोइला आधारित स्रोतबाट आगो नताप्नुहुन, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामाग्रीहरू नजिक नराख्नुहुन र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन मन्त्रालयले आग्रह गरेको छ । साथै सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न, गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्नपनि मन्त्रालयको आग्रह छ ।
आगो तथा हिटर ताप्दा वा गिजरको प्रयोग गर्दा टाउको दुखे, रिंगटा चल्ने आदि जस्ता लक्षण देखिएमा तुरुन्त झ्याल ढोका खुला गरी हावा ओहोरदोहोर गराउनुहुन वा खुला ठाउँमा जानुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ । यस्तो गर्दा पनि लक्षणहरूमा कम नभएमा वा अझै खराब भएमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिनुहुन वा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिनुहुन अनुरोध गरेको छ ।