डा.वास्तोलाद्वारा १३ लाख ५० हजारको अक्षयकोष स्थापना
सोलुखुम्बु।अमेरिकामा प्राध्यापनरत डा. थोमस बास्तोलाले गृह जिल्ला सोलुखुम्बुमा १६ जना विद्यार्थीलाई बार्षिक रूपमा पुरस्कृत गर्ने गरी ‘विद्यावारिधी लक्ष्य पुरस्कार’ स्थापना गरेका छन्।
हालसालै अमेरिकाको साउदन इलिनोई युनिभर्सिटीबाट अर्थशास्त्र विषयममा विद्यावारिधि हासिल गरेका जिल्लाको नेचासल्यान गाउँपालिका-४ निवासी डा. बास्तोलाले १३ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका सोलुखुम्बु जिल्ला अध्यक्ष टंक दाहालले जानकारी दिए ।
आफ्ना निकटस्थ साथीहरूसंगको समेत समन्वयमा स्थापित सो अक्षयकोषबाट प्राप्त ब्याजबाट सोलुखुम्बु जिल्लाका आठ वटा स्थानीय तहहरुमा सर्वोत्कृष्ट अङ्क हासिल गरी आफूलाई अब्बल सावित गर्ने उत्कृष्ट एक छात्र र एक छात्रालाई हरेक वर्ष नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुमार्फत प्रति विद्यार्थी नगद ५ हजार र सम्मान पत्र प्रदान गर्ने गरी हालै द्विपक्षीय सम्झौता भएको अध्यक्षको दाहालको भनाई छ ।
अक्षयकोषदाता बास्तोला र संगठनका जिल्ला अध्यक्ष दाहालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।सम्झौतामा अक्षयकोषको स्थायी व्यवस्थापन नगरुन्जेल सम्मका लागि दाताबाट प्राप्त रकम १३ लाख ५० हजार राष्ट्रिय बाणिज्य बैंकमा रेमिटेन्स खाता खोलि जम्मा गर्ने र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले साँंवा रकम नचलाई ब्याजबाट प्राप्त हुने रकमलाई दाताको तर्फवाट डा. थमन प्रसाद बास्तोलासँग समन्वय गरि हरेक वर्ष विद्यावारिधि लक्ष्य पुरस्कार र विपन्न लक्षित छात्रवृतिको कार्यक्रम गर्न रकम विनियोजन गरी कार्यक्रम संचालन गर्ने लगायत रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दाहालले रहस्य खबरलाई बताए ।
अध्यक्ष दाहालका अनुसार यो पुरस्कार संगठनको समन्वयमा गत बर्षबाटै बितरण गरिंदै आएको हो। जिल्लाका आठ वटै स्थानीय तहका विद्यालय मध्ये कक्षा ८ मा उत्कृष्ट अंक ल्याउँने १ छात्र र एक छात्रालाई यस बर्ष नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थानीय समितिको अधिवेशनसँगै वितरण गरिएको यो पुरस्कार नेचासल्यान गाउँपालिकामा उत्कृष्ट विद्यार्थी रेखा परियार र नेल्सन राईलाई डा. बास्तोलाकै हातबाट वितरण गरिएको थियो ।
यसअघि प्रति विद्यार्थी ५ हजारका दरले १६ जना विद्यार्थीलाई पुरस्कृत गर्दा हुन आउने ८० हजार रुपैयाँ बास्तोलाले ब्यहोर्दै आएका थिए।त्यसलाई ब्यबस्थित गर्ने उद्देश्यले डा. बास्तोलाले अक्षयकोषको स्थापना गरेका हुन्।आगामी बर्षबाट त्यसको ब्याजबाट प्राप्त रकम पुरस्कार रूपमा प्रदान गरिने छ,-अध्यक्ष दाहालले भने।
अक्षयकोषदाता डा. बास्तोलाले भने- “विद्यार्थीहरूलाई विशेषज्ञ बन्न र विद्यावारिधि सम्मको अध्ययनका लागि प्रेरणा मिलोस् भनेर ‘विद्यावारधि लक्ष्य पुरस्कार’ स्थापना गरिएको हो । यस कोषका लागि अमेरिकामा रहेका सोलुखुम्बु जिल्लाका केही अगुवाहरू, प्रवासी नपाली मञ्च(ओएनएफ)सम्बध्द अगुवा साथीहरू, आफ्ना क्लासमेटहरूलगायत अति निकटस्थ साथीहरूको सहयोगमा यो कोष स्थापना गरिएको उनले बताए ।