गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईको राहदानी रद्द गर्न आदेश
काठमाडौं । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ ।
आज (शुक्रबार) न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ ।
पाँच सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन । यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो । तर अदालतले अनुमति दिएको थिएन । अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो ।