चलचित्र‘कार्साङ’ले आफ्नो संस्कृति र परम्परालाई गलत रूपमा प्रस्तुत गरेको शेर्पा समुदायको आरोप



दावा जाङ्बु शेर्पा,काठमाडौं।नेपाली चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको संस्कृति र परम्परालाई तोडमोड गर्दै गलत रूपमा चित्रण गरेको भन्दै समुदायले आपत्ति जनाएको छ। चलचित्रमा देखाइएको बलि दिने प्रथा र छेवर (कपाल मुड्ने परम्परा) आफूहरूको धर्म र संस्कारसँग मेल नखाने भन्दै शेर्पा समुदायका अगुवाहरूले विरोध जनाएका छन्।

बलि र छेवर शेर्पा संस्कारभित्र पर्दैन

शेर्पा समुदाय बौद्ध धर्ममा आधारित जीवन पद्धतिलाई अवलम्बन गर्छ। बौद्ध धर्मले बलि दिने जस्ता कार्यलाई अस्वीकार गर्ने हुँदा चलचित्रमा गरिएको यस्तो चित्रण उनीहरूको संस्कृति र धर्मलाई अपमानित गर्ने खालको भएको शेर्पा अनुसन्धानकर्ता सेर्कु शेर्पाले बताए। उनले यस्ता गलत कथावस्तुहरूले समुदायमा साँस्कृतिक विचलन ल्याउने चेतावनी समेत दिए।

शेर्पा चलचित्र संघको विज्ञप्ति र माफीको माग

शेर्पा चलचित्र संघले चलचित्र निर्माण टोलीलाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “शेर्पाहरू बुद्ध धर्ममा आस्था राख्ने समुदाय हो। बलि दिने प्रथा शेर्पा समुदायको हो भन्नु पूर्णतः गलत छ। यस्ता गलत प्रस्तुति सच्याइनुपर्छ।”

निर्माण टोलीको दाबी र ब्यानरमा परिवर्तन

शेर्पा समुदायको विरोधपछि निर्माण पक्षले ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश चलचित्रको प्रचार सामग्रीबाट हटाएको छ। चलचित्रका निर्देशक याम शेर्पाले यो चलचित्र समग्र शेर्पा समुदायको नभई सिन्धुपाल्चोकको यार्सा गाउँका शेर्पा समुदायको संस्कार-संस्कृतिमा आधारित भएको दाबी गरेका छन्। तर, शेर्पा अगुवाहरूले एउटा सानो भूगोलको कथावस्तुलाई समग्र शेर्पा समुदायसँग जोर्न नमिल्ने बताएका छन्।

पहिलो शेर्पा चलचित्रको दाबीमा विवाद

चलचित्रका कलाकारले विभिन्न अन्तरवार्तामा ‘कार्साङ’लाई शेर्पा संस्कारमा आधारित पहिलो चलचित्रको रूपमा दाबी गरेपछि पनि विवाद बढेको छ। कुसुम चलचित्रका निर्माता फाराडेन्डी शेर्पाले यस्तो दाबी गलत भएको बताएका छन्। उनका अनुसार, ‘शेर्पा संस्कारमा आधारित पहिलो चलचित्र खाङ्ग्री हो। त्यस्तै, कुसुम र टिन्छेन फामा जस्ता चलचित्र पनि निर्माण भइसकेका छन्। कार्साङलाई पहिलो भन्नु इतिहास तोडमोड गर्नु हो।’

साँस्कृतिक गलत व्याख्याको दीर्घकालीन असर

शेर्पा अगुवाहरूले कालान्तरमा ‘कार्साङ’ जस्ता चलचित्रले शेर्पा समुदायको वास्तविक संस्कृति र परम्परालाई बुझ्न बाधा पुर्‍याउने बताए। यस्ता गलत व्याख्याले समुदायको मौलिक पहिचान बिग्रने भन्दै अहिले नै सच्याउनुपर्नेमा जोड दिएका छन्।

दयाहाङ राईसहितका कलाकारको भूमिका

गत पुस २६ गतेबाट प्रदर्शनमा आएको ‘कार्साङ’मा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङले अभिनय गरेका छन्। चलचित्रको कथावस्तु र प्रस्तुति भने विवादको घेरामा परेकाले यसको प्रभाव दर्शकमा कस्तो पर्ने हो, त्यो हेर्न बाँकी छ।

शेर्पा समुदायको आक्रोशले ‘कार्साङ’लाई नेपाली चलचित्र क्षेत्रमा सांस्कृतिक संवेदनशीलताको महत्वबारे सोच्न बाध्य बनाएको छ। यसले आगामी दिनमा कथावस्तु निर्माण गर्दा शोध र परामर्शको आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्