कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि हातपात हातपात गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको बताए । एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको केसीले बताए । उनीहरूलाई सोधपुछ भइरहेको केसीले बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ ।
बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ । हातपातका क्रममा थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको छ । बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि थापा घर फर्किएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।
विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेका हुन ।
थापाकै गाडीमा रहेका काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार पूर्वमुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेरै भनेपछि ती चालक ‘देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर’ हुन् भन्दै आक्रोशित भएका थिए ।