वैदेशिक श्रम बजारमा जवानी लुटिएका युवाले देख्ने नेपाल



  • कुमार जमरकटेल

विदेशी भूमिमा पसिना बगाइरहेका नेपाली युवाले नेपाललाई कस्तो देख्छन् भन्ने कुरा धेरै हदसम्म उनीहरूको व्यक्तिगत अनुभव, पारिवारिक पृष्ठभूमि र सामाजिक परिस्थितिमा निर्भर गर्छ।सामान्य रूपमा भन्नुपर्दा अधिकांश वैदेशिक श्रमिकहरूको दृष्टिमा नेपाल एक संभावनाले भरिएको तर अवसरविहीन मुलुक जस्तो देखिन्छ।

विदेश जाने बित्तिकै धेरै युवाले नेपालप्रति अझै माया र आशा राख्छन्। उनीहरू सोच्छन् ‘केही वर्ष मेहनत गरेर फर्किन्छु, व्यवसाय खोल्छु,राम्रो जीवन बाँच्छु।’ तर,जब उनीहरू विदेशमा संघर्ष गरिरहेका हुन्छन् त्यतिञ्जेल नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार,रोजगारीको अभाव र अवसरको खडेरी कायमै रहन्छ।

परिश्रम गर्ने युवा तर शासकहरूको बेवास्ताले विदेशमा ज्यान जोखिममा राखेर काम गर्ने नेपाली युवाहरूले महसुस गर्ने मुख्य कुरा भनेको नेपाल सरकारले आफुलाई ‘डलर पठाउने मेसिन’ मात्र ठान्छ। जब उनीहरूलाई अप्ठ्यारो पर्छ न त सरकार गम्भीर देखिन्छ न त रोजगारदाताहरू दृश्यमा आउँछन्।

‘बदल्न सकिने नेपाल’ को कल्पना गर्दै

विदेशमा काम गर्ने धेरै नेपाली युवाले नेपाललाई बदल्न सकिने देशका रूपमा हेर्छन्। उनीहरू भन्छन्— “हामीले विदेशमा सिकेको सीप र अनुभव नेपालमा लगानी गर्न पाए देश उकास्न सकिन्छ।” तर,जब तिनीहरू फर्किन्छन् उनीहरूलाई अन्यौलपूर्ण नीति, भ्रष्टाचार र राजनीतिक हस्तक्षेप ले निराश बनाउँछ।

नेपालको अर्थतन्त्र मुख्यतः रोजगारीका लागि विदेश जाने युवाहरूले पठाएको रेमिट्यान्समा टेकेर चलिरहेको छ। यो देख्दा युवाहरूलाई लाग्छ-‘हामी विदेशमा घाम-पानी सहँदै कमाएको पैसाले मात्र देश चलेको छ, तर हामीलाई कसैले सम्मान गर्दैन।’

धेरै युवाको मनमा नेपाल फर्कने चाहना हुन्छ। तर, फर्केर के गर्ने? सरकारी नीतिहरू उद्यमशीलतालाई प्रोत्साहित गर्नेभन्दा निरुत्साहित गर्ने खालका छन्। बैंकको ऋण, बजारको अस्थिरता र राजनीतिक हस्तक्षेप का कारण युवाहरू स्वदेश फर्कन डराउँछन्।

नेपाल संभावनाले भरिएको छ तर अवसरहीन छ। वैदेशिक श्रमिकहरूले नेपाललाई माया गरे पनि बाँधिएर बस्न नसकिने ठाउँ को रूपमा देख्छन्। उनीहरूको मुख्य पीडा भनेकै ‘देश चलाउनेहरूले युवाको पसिनाको मूल्य बुझ्दैनन्। जवानी वैदेशिक श्रम बजारमा लिलाम भयो भन्दै मन भरी निराशा बोकेर फर्केने
यी युवाहरूलाई सरकारले बुझ्ने दिन कहिले आउला? कि तिनकै पसिनाले चलेको अर्थतन्त्रलाई चलाइराख्ने बहानामा बेवास्ता गर्ने छोड्ने छैनन् ।’

प्रतिक्रिया दिनुहोस्