नेपाल आईडलको चौथो संस्करण २३ गतेदेखि
काठमाडौंस् नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी शो नेपाल आइडलको चौथो संस्करण मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रसारण हुने भएको छ। आइडलको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्तरुपमा ल्याउने तयारी भइरहेको आयोजकले जानकारी दिएको छ।
यसैबीच नेपाल आइडल र विज्ञापन दाताबीच शुक्रबार हस्ताक्षर गरिएको छ। सोल्टी क्राउन प्लाजामा आयोजित साइनिङ समारोहमा नेपाल आइडल सिजन फोरका टाइटल स्पोन्सर कोकाकोटा, पावर्ड वाइ सिटिजन लाइफ इन्स्योरेन्स, डाबर हनी, इन एसोसिएसन विथ हिमाल रेमिट, केएनपी जापा तथा स्ट्रेन्थ पार्टनर शिवम सिमेन्ट, सपोर्टेड बाइ मेट्स इन्टरनेशनल, हिरो, बाल्ट्रा र भोटिङ पार्टनरको रुपमा रहेका सेल पेबीच विज्ञापन सम्झौतामा हस्ताक्षर भएको हो।
कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले कोरोना महामारीका बीच नेपाल आइडल दर्शकमाझ ल्याउन सफल भएको बताए। उनले नयाँ सिजनमा बजारले गरेको सहयोग र समर्थन उत्साहजनक भएको बताउँदै दर्शकहरुलाई कहिल्यै निराश नपार्ने प्रतिबद्धता जनाएका थिए।
एपीवान टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले पनि नेपाल आइडलको यो संस्करणलाई झन् भव्य बनाउने बताए।
नेपाल आइडलको पहिलो विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो विजेता सुदूरपश्चिमका रवि ओड भएका थिए। तेस्रो सिजनको उपाधि भने पहिलोपटक महिला प्रतिस्पर्धी सज्जा चौलगाँईले जितेकी थिइन्।