आफ्नो परिवार आत्मदाह गर्नुपर्ने अवस्थामा पुगेको धुर्मुसको दुखेसो



काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफ्नो परिवार आत्मदाह गर्ने अवस्थामा पुगेको भन्दै दुक्गेसो पोखेका छन्। गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेका धुर्मुसले मंगलबार सामाजिक सञ्जालमार्फत सो गुनासो पोखेका हुन्।

पछिल्लो समय गुमनाम जस्तै भएका उनले अलपत्र परेको चितवनस्थित निर्माणाधिन रंगशालामा पुगेर आफुले भ्रष्टाचार नगरेको स्पस्टोक्ती दिंदै हिसाब देखाउन तयार रहेको बताएका छन् । करोडौँ ‘भ्रष्टाचार गरे गाडी जोडे, स्वीमिङ पुलसहितको घर जोडे भनेर आरोप लगाइयो । हो, घर छ स्वीमिङ पुलसहितको । रातदिन रोएको आँसुको भेलले बनेको स्वीमिङ पुल छ । घर, गाडी हामीले २०६७ सालमै जोडिसकेका थियौँ,’ धुर्मुसले भिडिओ सार्वजनिक गर्दै भनेका छन् ।

उनले केन्द्र सरकार, स्थानीय सरकारबाट सहयोग नपाएकोसमेत बताएका छन् । करिब १२ करोड मात्रै स्थानीय सरकारहरुबाट सहयोग आएको र अरू सबै स्वदेशमा विदेशमा रहेका दाताहरुको सहयोगमा निर्माण गरिएको उनले बताएका छन् ।

धुर्मुसले पत्नी कुञ्जना घिमिरेले यो परियोजना गर्न सकिंदैन भनेर पहिलै सम्झाएको स्मरण गर्दै धुर्मुसले आफ्नै कारणले रङ्गशाला निर्माण सुरु गरिएको खुलासा पनि गरेका छन् । उनले आफ्ना परिवारमाथि आरोप लगाउने गालीगलौज गर्ने नगर्न आग्रह गर्दै परिवारको कुनै गल्ती नरहेको बताएका छन् ।

‘जति गाली गर्नुछ मलाई गर्नुस् । मेरो परिवार अभियान्तालाई गाली नगर्नुस् । मेरो परिवार आत्मदाह गर्ने अवस्थामा पुगेको छ । देशको लागि काम गर्दाको सजाय यति कठोर हुन्छ भन्ने कल्पना गरेको सोचेको थिइँन,’ उनले भनेका छन् । उनले १८ करोड उधारो तिरेर निर्माणको काम अगाडि बढाउने हो भने दुई दिन महिनाभित्र म्याच सुरु गर्न सकिने बताएका छन् । रंगशाला निर्माणमा नेपाल सरकारले असहयोग गरेको धुर्मुले बताएका छन् । उनले अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नगरेको गुनासो गर्दै भनेका छन्, ‘कतै भागेको छैन, बन्ने आशमा कुरेर बसेको छु ।’

प्रतिक्रिया दिनुहोस्