सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा अवरोध गर्नेलाई कडा कारबाही गर्ने सोलु प्रशासनको चेतावनी



सोलुखुम्बु।जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा वाधा अवरोध गर्ने गराउनेलाई प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोमबार एक सूचना जारी गर्दै नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्दार, पर्यटन प्रवर्धन लगायतमा समस्या उत्पन्न भएको जनगुनासो प्राप्त भएको भन्दै सो चेतावनी दिनुभएको हो।

जारी सूचनामा केहि दिनदेखि सोलुखुम्बु जिल्लामा रहेका विभिन्न हेलिप्याडहरुमा अनाधिकृत व्यक्तिहरुले हेलिकप्टरको आवागमन (उडान) मा अवरोध पुर्‍याएको भनि विभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको गम्भिर ध्यानाकर्षण भएको पनि जनाईएको छ।

सूचनामा अगाडी भनिएको छ,-‘नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्दार, पर्यटन प्रवर्धन लगायतमा समस्या भएको भनि जनगुनासो प्राप्त भएकाले हेलिकप्टर उडानमा वाधा अवरोध गर्ने गराउनेलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने व्यहोरा समेत सरोकारवाला सबैलाई जानकारी गराईन्छ ।’

केही दिनअघि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका र अन्य स्थानीय युवा समूह तथा संघसंस्थाले पुस १७ गते (जनवरी १) देखि व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेपछि वायुसेवा सञ्चालक संघ नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सुरक्षाको पूर्ण प्रत्याभूमि नभएसम्म हेलिकप्टरहरूले सगरमाथा क्षेत्रमा पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि पनि हेलिकप्टर उडान नगर्ने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्