अमेरिकामा विद्यावारिधी (पीएचडी) पूरा गरेका डा. बास्तोलालाई जन्मस्थानमा विभिन्न संस्थाको सम्मान
सोलुखुम्बु। अमेरिकाबाट विद्यावारिधी (पीएचडी) पूरा गरेका डा. थोमस बास्तोलालाई केदार माध्यमिक विद्यालय लगायत जन्मस्थान नेचासल्यानका विभिन्न संघ संस्थाले बधाईसहित सम्मानित गरेका छन्।
नेचासल्यान गाउँपालिकाभित्र रहेका साविकका नेचा बेतघारी र बतासे गाबिसबाट सबैभन्दा पहिले विद्यावारिधी
गर्न सफल डा. बास्तोलालाई समाज र राष्ट्रको समेत गौरव बढाउन सफल भएको भन्दै स्थानीय विद्यालय तथा संघ संस्थाले बधाईसहित सम्मानित गरेका हुन्।
डा. बास्तोलालाई बिहीबार नेचासल्यान गाउँपालिका वडा नं ४ को केदार माध्यमिक विद्यालय र बास्तोला कूल सेवा समिति सोलुखुम्बुले छुट्टाछुट्टै र बुधबार साँझ संस्कृति संरक्षण समूहले सम्मानित गरेको थियो।
अधिराज्य अमेरिका (United State of America) को साउदर्न इलिनोइ युनिभर्सिटीबाट अर्थशास्त्र विषयमा विद्यावारिधी (Ph.D.) गर्नुका साथै हाल Governors State University मा अर्थशास्त्र विषयमा प्राध्यापनरत बास्तोला बुधबारमात्रै जन्मस्थल नेचासल्यान आईपुगेका हुन्।
संस्कृति संरक्षण समाजद्वारा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रम समाजका सल्लाहकारसमेत रहेका नेचासल्यान गाउँपालिकाका संस्थापक अध्यक्ष एबम् नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख आतिथ्यता,श्री केदार माबिमा सम्मानित ब्यक्तितब स्वंय र बास्तोला कुल सेवा समितिमा केन्द्रीय सदस्य बेदनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
बधाई तथा सम्मान गर्न आयोजना गरिएका कार्यक्रमका अधिकांश बक्ताहरुले गरे के हुंदैन भन्ने ज्वलन्त उदाहरण डा. बास्तोला भएको बताउंदै उनको यो सफलता आम विद्यार्थीका लागि प्रेरणाको श्रोत बन्ने बताएका थिए।
सामान्य आर्थिक हैसियत भएको परिवार,त्यसमाथि सानैमा बुवाको मृत्यु !कठिन र चुनौतीपूर्ण अवस्थाबाट अमेरिका जस्तो देशमा पुगेर त्यहाँको बिश विद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधी प्राप्त गर्नु चानचुने उपलब्धि नभएको उनीहरुको भनाइ थियो। यो उपलब्धि ब्यक्ति र समाजको मात्रै नभएर राष्ट्रकै सम्पत्ति भएको बताउंदै उनीहरूले समाज र राष्ट्रको समृद्धि,बिकास र रुपान्तरणमा लगाउन
उनीहरूले डा. बास्तोलालाई आग्रह गरेका थिए।
कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै डा. बास्तोलाले आफू जन्मेहुर्केको गाउँ र कख सिकेको विद्यालयले सम्मान गर्दा आफूलाई अत्यन्त खुशी लागेको बताए । निरन्तरको सङ्घर्ष, मेहनत, प्रतिबध्दता र सङ्कल्पले नै व्यक्तिलाई सफलतामा पुर्याउने बताउँदै हिमालको हावा खाँदै हाम्रोजस्तो ग्रामीण क्षेत्रमा हुर्केबढेका विद्यार्थीहरूमा तीक्ष्ण क्षमता हुने र अवसर पाएमा विश्वमै प्रतिस्पर्धा गर्न सक्ने उनले बताए ।